काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् दीपकबहादुर सिंहले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे सरकारले केही नबाेलेकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् सिंहले भन्नुभयाे - 'कालापानी लिपुलेककाे बारेमा आजसम्म पनि याे हाउसमा कसैले एक शब्द उठाउन सकेकाे छैन, के डर लाग्छ ? सत्ता जान्छ भन्ने डरले केही बाेल्न नसेकाे हाे ?'
विभिन्न ठूला पार्टीले मिसन एभरेष्ट, मिसन ग्रासरुट लगायत अभियान चलाइरहेका भन्दै उहाँले प्रश्न गर्नुभयाे - 'मिसन महाकाली ठूला पार्टीले कहिले सुरु गर्ने ?'
सरकारले किसानलाई मल दिनुकाे सट्टा अनुदान कट्टा गरेर पीडा दिएकाे सांसद् सिंहले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'किसानले मल नपाएकाे अवस्था छ, भएकाे अनुदान कट्टा गर्न थालिएकाे छ, के किसानलाई पनि खाडी जा भन्न त खाेजेकाे हैन सरकारले ?'
