काठमाडाैं । सत्तारुढ माओवादी केन्द्रका सांसद् देवेन्द्र पौडेलले देशकाे आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गर्न सरकारसँग माग गर्नुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् पाैडेलले देशकाे अर्थतन्त्र कमजाेर अवस्थामा रहेकाले आर्थिक प्रणालीमा सुधार गर्ने गरी तत्काल स्वेतपत्र जारी गर्न सरकारसँग माग गर्नुभयाे ।
उहाँले भन्नुभयाे - 'सरकारी ढुकुटीमा २ खर्ब २१ अर्ब घाटा भएकाे भनिएकाे छ, मुद्रास्फिति ७ दशलव ८८ प्रतिशत पुगेकाे छ, सहकारी र बैंकका वचतकर्ता भागाभाग छन्, व्यवसायीहरु आतंकित छन्, ब्याजदर सिंगल डिजिटमा ल्याउने भनिएकाे कुरा पनि त्यत्तिकै हराएकाे छ, पुँजी कहाँ पलायन भयाे ? विदेशमा गयाे कि घरघरमा नाेट राखिएकाे छ कि यसकाे तत्काल खाेजी गरयाेस् ।'
देशको अर्थतन्त्र सुधारिँदैछ भन्ने विश्वास दिलाउनेगरी श्वेत पत्र आउनुपर्ने सांसद् पाैडेलले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'चक्रबर्ती ब्याज, मिटरब्याजकाे मारमा घाटामा भएका नागरिकहरुलाई राज्यकाे तर्फबाट तत्काल आर्थिक प्रणालीमा सुधार गर्नेगरी आशा, विश्वास र भराेसा जगाउनेगरी तत्काल साझा श्वेत पत्र जारी गरेर देशकाे अर्थप्रणालीलाई सुधारिँदैछ भन्ने प्रत्याभूति सरकारले गराेस् ।'
