काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेकाे बताउनुभएकाे छ र
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा मिटरब्याजसम्बन्धी समस्या समाधानबारे सदनलाई जानकारी गराउने क्रममा मन्त्री श्रेष्ठले मिटर ब्याजसहितका सामन्तवादका सबै अवशेष मेटाउन सरकार प्रतिबद्ध रहेकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'हामीले सामन्तवादलाई मूलभूत रुपमा अन्त्य गरेपनि २१ औं शताब्दीकाे लाेकतान्त्रिक नेपालमा सामन्तवादकाे अवशेष अत्यन्तै गम्भीर दु:ख र पीडाका रुपमा छ, त्याे अवशेषमध्ये एउटा रुप मिटरब्याजी हाे, अहिले सतहमा पीडितहरुले आन्दाेलनका रुपमा उठाएका छन्, यसलाई हल गर्न सरकारहरुले प्रयत्न गरिराखेका छन्, याे समस्यालाई हरहालतमा समाधान गर्नुपर्छ, मिटरब्याजीबाट पीडपत जनतालाई न्याय दिनुछ, सामन्तवादका सबै अवशेषहरू अन्त्य भए भन्ने सुनिश्चित गर्नुछ ।'
उपप्रधानमन्त्री श्रेष्ठले विगतमा आयाेग नभएर कार्यदल बनेका र तीनै कार्यदलका प्रतिवेदनहरूका आधारमा अहिले बनाइएकाे जाँचबुझ आयोगले काम गर्ने बताउनुभयाे ।
मिटरब्याज पीडितको न्यायका लागि मन्त्रिपरिषद्ले कानुन संशोधन गर्ने निर्णय गरिसकेकाे भन्दै उहाँले यस समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएकाे बताउनुभयाे । उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयाे - 'हामी यस समस्यालाई निमिट्यान्न बनाउन लागेका छौं, पहिले कार्यदल बनेको थियो, अहिले आयोग बनेको छ, सांसद्हरुले लम्ब्याउने काम नहोस् भनेर सचेत गराउनु भएको छ, त्यसमा सरकार सचेत छ, मिटरब्याजीको समस्या समाधान हुन्छ ।'
साे आयाेगले फिल्डमै गएर अनुसन्धानात्मक तरिकाले काम गर्ने उहाँले बताउनुभयाे । सबै छानबिन र अनुसन्धान गरेपछि आयाेगले कारबाहीका लागि सिफारिस गर्ने मन्त्री श्रेष्ठले बताउनुभयाे ।
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधि देशमा हुन नदिन सरकार सरकार प्रतिबद्ध रहेकाे पनि उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयाे । सबैकाे सुझावका आधारमा कानुन कार्यान्वयन गर्ने र साे समस्या समाधान गरिने उहाँले बताउनुभयाे ।
