काठमाडौं । उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितलाई न्याय दिन प्रतिनिधि सभामा उठेको प्रश्न सरकारलाई सहयोग पुगेको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै श्रेष्ठले पीडितलाई न्याय दिन र सहमति कार्यान्वयन चारैतिरबाट आएको दबाबले सरकारलाई सहयोग गर्ने बताउनुभयो । ‘मिटरब्याजी पीडितलाई न्याय दिलाउने काममा सरकार प्रतिबद्ध छ र हर हालतमा गरिन्छ’, उहाँले भन्नुभयो ।
पीडितलाई न्याय दिने कुराबाट सरकार पछि नहट्ने उहाँले प्रष्ट पार्नुभयो । कुनै पनि तर्क वा कुतर्क गरेर सो विषयलाई हल गर्नबाट पछि हट्न नमिल्ने उहाँले बताउनुभयो ।
मिटरब्याजी पीडितबाट निवेदन लिएर छानबिन गरी त्यसको आधारमा कारबाही गर्न सिफारिसको लागि उच्च स्तरीय आयोग बनाएको उहाँले बताउनुभयो । समस्याको दीर्घकालीन समाधान भने ऐन बनाएरै गर्ने उहाँले जानकारी दिनुभयो ।
केही मिटरब्याज पीडित बाहिर आन्दोलनमा आएका भए पनि धेरै पीडित अहिले पनि बोल्न नसकेका उहाँले बताउनुभयो । सबै खालका पीडितलाई न्याय दिने प्रक्रियामा राज्य जाने उहाँले प्रष्ट पार्नुभयो ।
मिटरब्याज पीडितको समस्या समाधान गर्नुपर्ने भए पनि त्यो कहिलेसम्म गर्ने भन्ने बारे भने आफूले बताउन नसक्ने श्रेष्ठले बताउनुभयो । तर यो वर्षौँ लगाउने विषय नभएको उहाँले प्रष्ट पार्नुभयो । संसद्ले जति छिटो ऐन पास गर्यो त्यति नै छिटो समस्या समाधान हुने उहाँले बताउनुभयो ।
