काठमाडौं । प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले संसद् र सभामुखलाई सबैको बनाउन कार्य व्यवस्था समितिको सहमति अनुसार सभामुख चल्नु पर्ने बताउनुभएको छ ।
सभामुखले दायाँ वा बायाँ हुननहुने खतिवडाले बताउनुभयो । सभामुखको छायाँ समेत कसैमाथि पर्न नहुनेमा उहाँले जोड दिनुभयो ।
नेपालको संसद् अहिले पनि लयमा चल्न नसकेको उहाँले बताउनुभयो । ‘संसद्लाई लयमा ल्याउनु पर्छ, हामी विषयमा प्रवेश गर्नुपर्छ, विषय भन्दा अन्त जाने पद्धतिको अन्त्य हुनुपर्छ’, उहाँले भन्नुभयो ।
सभामुखलाई दरो बनाउने र संसद्लाई बलियो बनाउने तर्फ सबैको ध्यान जानु पर्ने उहाँले बताउनुभयो । यसलाई कसैले अन्यथा सोच्नु नहुने खतिवडाको भनाइ छ ।
