काठमाडाैं । राष्ट्रिय सभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७८/०७९ पेस भएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्री डा वेदुराम भुषालले सो प्रतिवेदन पेस गर्नुभयो ।
बैठकमा मन्त्री भुषालले लोक सेवा आयोगको त्रिसट्ठिऔँ वार्षिक प्रतिवेदन २०७८/७९ पेस गर्नुभयो ।
बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुभएको थियो ।
दुई विधेयक पारित
राष्ट्रिय सभाबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ सर्वसम्मतिबाट पारित भएको छ ।
राष्ट्रिय सभामा आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
यी दुवै विधेयक राष्ट्रियसभामा उत्पत्ति भएका थिए । राष्ट्रियसभाबाट पारित भएका यी विधेयक अब प्रतिनिधिसभामा जानेछन् । राष्ट्रियसभाको अर्को बैठक यही चैत २७ गते सोमबार अपराह्न १ बजे बस्नेछ ।
-रासस
