काठमाडाैं । राष्ट्रिय सभा सदस्य इन्दु कडरियाले जनसराेकारका विषयमा गठबन्धन सरकार बेखबर रहेकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् कडरियाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिएकाे ४ महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेकाे बताउनुभयाे ।
सरकारकाे ध्यान भागबण्डामा मात्र केन्द्रित रहेकाे बताउँदै उहाँले भन्नुभयाे - 'प्रधानमन्त्रीले शपथ लिएकाे ४ महिना पुग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेकाे छैन, प्रतिनिधि सभामा विषयगत समिति बन्न सकेका छैनन्, यसले के प्रष्ट पार्छ भने वर्तमान सरकार भागबण्डामा अल्झिएकाे छ, जनसराेकारका विषयमा सरकार बेखबर छ ।'
गठबन्धन सरकार संसद् र जनताप्रति उत्तरदायी हुन नसकेकाे पनि सांसद् कडरियाले बताउनुभयाे । जनताकाे जीवन कष्टकर बन्दा पनि सरकार गम्भीर हुन नसकेकाे उहाँले बताउनुभयाे । सरकारले सदनलाई विजनेस दिन नसकेकाे बताउँदै सांसद् कडरियाले भन्नुभयाे - 'देशकाे नीति निर्माण हुने, जनताकाे दैनिक सराेकारका विषयमा छलफल हुने सदन प्रभावकारी रुपमा चलाउन नसक्ने याे सरकारबाट जनताले के अपेक्षा गर्ने ?'
किसानहरु समस्याबाट पिल्सिएकाे, महंगीले जनताकाे ढाड सेकेकाे, उर्जावान युवा विदेश पलायन हुने क्रम बढेकाे, राष्ट्रिय गाैरवका आयाेजना अघि नबढेकाे, न्यायका लागि संघीय सरकारकाे मुख ताक्ने अवस्था आउँदा पनि सरकारले गम्भीर रुपमा लिन नसक्नु दु:खद भएकाे सांसद् कडरियाले बताउनुभयाे ।
