काठमाडाैं । राष्ट्रिय सभा सदस्य सुरेश कुमार आलेमगरले काेशी प्रदेशकाे नामाकरण खारेज हुनुपर्ने बताउनुभएकाे छ ।
मंगलबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् मगरले काेशी नाम खारेज गरेर पहिचानकाे आधारमा नाम राखिनुपर्ने बताउनुभयाे ।
प्रदेश-१ का जनताले परिवर्तन र पहिचान खाेजेपनि काेशी अञ्चलकाे भूतलाई ब्युँताएर नामाकरण गरिएकाे उहाँले बताउनुभयाे । 'परिवर्तन पहिचान जनताले खाेजेका थिए, खाेलानालाले खाेजेका थिएनन्,तर पनि पञ्चायती व्यवस्थाका भूत ब्युँताइएकाे छ'- आलेमगरले भन्नुभयाे ।
उहाँले काेशी नेपालमा कतै नरहेकाे दाबी पनि गर्नुभयाे । 'धेरैलाई थाहा छैन हाेला, काेशी नेपालमा कतै छैन, स-साना नदी मिलेर बग्ने सप्तकाेशी हाे, काेशी त भारतमा छ, तर भारतमा बग्ने नदीकाे नाममा यहाँ प्रदेशकाे नामाकरण गरियाे, यसले समस्या सृजना गर्याे, त्यसकारण याे प्रदेशकाे नामाकरण खारेज गर्नुपर्छ, उत्पीडित जनताले मागेका, संघर्ष गरेका बलिदान दिएकाे पहिचानका आधारणमा प्रदेशकाे नामाकरण गरिनुपर्छ'- मगरले भन्नुभयाे ।
नेपालमा थुप्रै परिवर्तन भएपनि प्रतिगामी र पश्चगामी चिन्तन अझै बाँकी रहेकाे उहाँले बताउनुभयाे । प्रदेश-१ मा भइरहेकाे आन्दाेलनमा आफ्नाे एेक्यबद्धता रहेकाे सांसद् आलेमगरले बताउनुभयाे ।
