काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् लेखनाथ दाहालले सदनलाई कुरा गर्ने नभई काम गर्ने थलोको रूपमा रूपान्तरण गर्नुपर्ने बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले सदन जनताका आवाज बुलन्द गर्ने थलाे मात्र नभएकाे बताउनुभयाे । सदन नागरिककाे अपेक्षा र राष्ट्रको आवश्यकता पूरा गर्ने थलो समेत भएकाे उहाँकाे भनाइ छ ।
सरकार सकारात्मक रुपमा अघि बढेकाे भन्दै उहाँले सरकारका सय दिन हेर्न पूर्वाग्रह र ईर्ष्याबाट मुक्त हुनुपर्ने बताउनुभयाे । आफू भन्दा अगाडि बाेल्नुभएका नेकपा एमालेका सांसद् रघुजी पन्ततर्फ लक्षित गर्दै सांसद् दाहालले त्यसाे भन्नुभएकाे हाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनबाट उद्घाेष गरेअनुसारकै याेजनामा सरकार अगाडि बढेकाे दाबी पनि उहाँले गर्नुभयाे । संघीयताकाे व्यवहारिक कार्यान्वयन गर्नुपर्ने सांसद् दाहालले बताउनुभयाे ।
प्रचण्डकाे कुशल नेतृत्वमा सरकार अगाडि बढेकाे उहाँकाे दाबी छ । पुराना नीति, योजना र कार्यक्रमहरूबाट राष्ट्रको नयाँ आवश्यकता पूरा गर्न नसकिने भन्दै सांसद् दाहालले अहिलेकाे सरकारप्रति जनतामा सकारात्मक सञ्चार पैदा भएकाे दाबी गर्नुभयाे ।
सरकारका सकारात्मक कामकाे समर्थन गर्नुपर्ने र सरकारका कमजाेरीलाई सच्याउने वातावरण बनाउन समेत उहाँले सबैमा अपिल गर्नुभयाे । सदनलाई अनुशासित र मर्यादित बनाउँदै सदन सञ्चालन हुनुपर्ने बताउनुभयाे ।
