काठमाडाैं । सांसद् कुसुमदेवी थापाले रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका-३ रन्मामा मृत भेटिएका दुई दिदीबहिनीकाे विषयमा सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक बैठकमा बाेल्दै सांसद् थापाले सिस्नाे टिप्न गएका ११ वर्षीया रिना बुढामगर र ९ वर्षीया कालिमाया बुढामगर मृत भेटिएकाे विषयमा तत्काल अनुसन्धान थाल्न सरकारसँग माग गर्नुभयाे ।
उहाँले रिना र कालिमायाकाे हत्या भएकाे हुन सक्ने भन्दै उहाँले सत्यतथ्य छानबिन गरी दाेषीलाई कारबाही गर्न पनि सरकारसँग माग गर्नुभयाे । त्यस क्षेत्रमा बेला-बेलामा टेलिकमकाे टावरले काम नगर्ने गरेकाे भन्दै सांसद् थापाले टेलिकमका टावर अपग्रेड गर्न पनि सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
बुधबार साँझ सिस्नो टिप्न भनी निस्केका स्थानीय तारामान बुढाकाका दुई छाेरीहरु रिना र कालिमाया बिहीबार बिहान मृत भेटिएका थिए ।बालिकाको गरगहना लुटपाट गरी लुटेराले हत्या गरेको हुनसक्ने आशंका गरिएकाे छ ।
