काठमाडौं । सत्तारुढ दलकै सांसद्ले सरकारकाे कामकारबाहीमाथि असन्तुष्टि जनाएकाे छन् ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक बैठकमा बाेल्दै एकीकृत समाजवादीका सांसद् राजेन्द्र पाण्डेले सदन बैठकमा सांसद्ले उठाएको प्रश्नकाे जवाफ सरकारले नदिएकाे भन्दै असन्तुष्टि जनाउनुभयाे ।
शून्य, विशेष र आकस्मिक समयमा सांसद्हरुले उठाएको विषयकाे जवाफ सरकारका सम्बन्धित मन्त्रीहरुले दिनुपर्ने माग उहाँले गर्नुभयाे । '२१ वटा बैठक बसिरहँदा २ बैठक प्रधानमन्त्रीलाई विश्वासको मत दिन खर्चियौं, १९ बैठक शून्य र विशेष समय र आकस्मिक समयमा विषयहरू उठाउनुभएको छ, यो विषय सरकाले सुनिरहेको छ कि छैन ?'- सांसद् पाण्डेले प्रश्न गर्नुभयाे ।
सांसद्हरुले उठाएका जनसरोकारका विषयमा मन्त्रीहरुले सदनमा उपस्थित भएर अनिवार्य रूपमा जवाफ दिनुपर्ने व्यवस्था गर्न माग गर्दै उहाँले यसमा रुलिङ गर्न सभामुखकाे समेत ध्यानाकर्षण गराउनुभयाे ।
सरकार मुकदर्शक भएर बस्ने हाे भने संसद्काे सान्दर्भिकता नै नरहने सांसद् पाण्डेले बताउनुभयाे । 'संसद् जनताको समस्या पोख्ने थलो हो यो, जनताको समस्याका बारेमा यहाँ हामी पोख्छौं, तर सरकार मूकदर्शक भएर बस्यो भने आम जनताको बीचमा त्यो संसद्प्रति कस्तो धारणा बन्ला ? त्यसैले म गम्भीरतापूर्वक भन्छु अब आइन्दा हरेक दिन एक जना मन्त्री आएर यहाँ आफ्नाे मन्त्रालयसम्बन्धी उठेका प्रश्नकाे उत्तर दिने परिस्थिति बनोस् र यसमा रुलिङ होस् भन्ने चाहन्छु ।'
