काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् विराजभक्त श्रेष्ठले चितवनमा चञ्चलकली नामको हात्तीको सुँड काटिएको घटनामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् श्रेष्ठले साे घटना मानवताविरुद्धकाे अपराध भएकाे भन्दै भर्त्सना गर्नुभयाे । उहाँले दाेषीलाई चाँडाे भन्दा चाँडाे कारबाही गर्न माग गर्नुभयाे ।
'गत मंगलबार चितवनमा चञ्चलकली नाम गरेको ४५ वर्षीय हात्तीको निर्मम तरिकाले सुँड दुई टुक्रा हुने गरी काटिएको छ, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनबमोजिम कारबाही गर्न माग गर्दछु, हामी मूल्य सबै कुराको बुझ्छौँ, महत्त्व केहीकाे पनि बुझ्दैनौं, अहिले विश्वकमा हिंसारहित पर्यटन चलिरहेको छ, नेपालमा अब सुँड काटिएको हात्ती हेर्न कोही पर्यटक आउँदैन, यो मानवताविरुद्धको अपराध हो, म पर्यटनमन्त्री, गृहमन्त्री र सरकारकाे गम्भीर ध्यानाकर्षण गराउँदै दाेषीलाई छिटाे भन्दा छिटाे कारबाहीकाे माग गर्दछु'- श्रेष्ठले भन्नुभयाे ।
