काठमाडाैं । नेपाली कांग्रेसका सांसद् गगन थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभयाे ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् थापाले बाघदरबार र सिंहदरबारबीच टकराव देखिएकाे बताउनुभयाे । काठमाडाैं महानगरले फाेहाेर नउठ्दा सिंहदरबार लगायत क्षेत्र प्रभावित भएकाे भन्दै उहाँले तत्काल वार्ता गरेर समस्या समाधान गर्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गर्नुभयाे ।
'काठमाडाैं महानगरपालिकाले फाेहाेर नउठाउने भनेकाे छ, एउटा निर्वाचित जनप्रतिनिधि स्थानीय सरकारकाे प्रमुखले आफ्नाे असहमति प्रकट गर्दैगर्दा अत्यावश्यक सेवा अवरुद्ध गरेर आफ्नाे माग सुनुवाइ गराउने शैली प्रयाेग भएकाे भाषा त्याे विषयमा यथाेचित समयमा बहस गर्दै गराैंला, तर अहिलेलाई म सम्माननीय प्रधानमन्त्रीसँग आग्रह गर्छु कुनै विलम्ब कुनै आग्नह नगरीकन काठमाडाैं महानगरसँग छलफल गरियाेस्, संवाद गरियाेस्'- थापाले भन्नुभयाे ।
जुनजुन विषय अहिले सल्ट्याउने हाे र जुनजुन विषयमा सहमति कायम गर्ने हाे ती विषयमा छलफल गर्न आग्रह गर्दै उहाँले त्याे छलफलमा काठमाडाैंका जनप्रतिनिधिलाई पनि सहभागी गराउन माग गर्नुभयाे । मेयर शाहले संघीय सरकारप्रति असहमति प्रकट गर्दै सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिनुभएकाे छ । फाेहाेर नउठ्दा त्यस क्षेत्र प्रभावित भएकाे छ ।
तीन तहकाे सरकारबीच अन्तरसम्बन्ध कायम हुनुपर्ने भन्दै उहाँले सराेकारवाला संयन्त्रकाे बैठक बस्न नसकेकाे बताउनुभयाे ।
