काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद् ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेकाे अडियाे प्रकरणबारे माफी मागेकाे छ ।
सोमबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले साे घटनाले आफूहरुलाई दु:खी बनाएकाे बताउनुभयाे । 'याे घटनाले संसद्काे गरिमामा पर्न गएकाे मानमरर्दनमा क्षमा माग्छु'- उहाँले भन्नुभयाे ।
डा. श्रेष्ठको टेलिफोन संवादको अडिओ सार्वजनिक भएसँगै उहाँमाथि छानबिन प्रक्रिया थालिसकेको उहाँले जानकारी दिनुभयाे । 'संवादलाई गम्भीर रुपमा लिएकाे छ, त्यसबारे सत्यतथ्य छानिबन गरी ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न केन्द्रीय अनुशासन र आचरण समितिलाई निर्देशन दिएकाे छ, याे छानबिन पूरा नभएसम्मका लागि सांसद् तथा पार्टीकाे साधारण सदस्यकाे हैसियतले कुनै पनि काम गर्न नगराउन डा श्रेष्ठलाई निर्देशन दिएकाे छ र २४ घण्टाभित्र स्पष्टिकरण दिन भनेकाे छ'- परियारले भन्नुभयाे ।
यस घटनालाई रास्वापाले गम्भीर रुपमा लिएकाे भन्दै उहाँले यस्ता घटना विगतमा पनि भएकाले छानबिन हुनुपर्ने बताउनुभयाे । परियारले भन्नुभयाे - 'नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन, यस्ता घटना विगतमा पनि भएका छन्, ती सबैको सत्यतथ्य छानविन हुन सक्यो भने अझै लोकतन्त्रप्रतिको हाम्रो प्रतिवद्धता अझ प्रतिबद्ध हुन्छ भन्ने हामीलाई लाग्दछ, हाम्रो प्रतिनिधि सभा सदस्यमार्फत तपाइँहरुको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौं, संसद्को गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण रहनेछौं, यो घटनाले हामीलाई कतैपनि विचलित हुने छैनौं, राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट पर रहनुपर्छ र लाेकतन्त्रलाई अझ सुदृढ बनाउनुपर्छ ।'
