काठमाडौं । नेपाली कांग्रेसका सांसद् धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरबारे छानबिन गर्न माग गर्नुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् गुरुङले संसदीय समिति बनाएर यस घटनाकाे निष्पक्ष छानबिन गर्न माग गर्नुभयाे ।प्रतिनिधि सभा सदस्य भइसकेका व्यक्तिले कुनै व्यवसायीसँग पैसा माग्नुभन्दा लज्जाजनक अरु केही नहुने उहाँले बताउनुभयाे ।
श्रेष्ठले गरेको कुराकानी, भ्रष्टाचार, कमिसन आदिबारे संसद् चुप लागेर बस्न नहुने सांसद् गुरुङले बताउनुभयाे । 'त्याे वार्तामा भनिएकाे छ काेर टिमलाई बुझाउनुपर्छ, त्याे काेर टिम भनेकाे काे हाे ? त्यसकाे पनि छानबिन गर्नुपर्दैन ? प्रतिनिधि सभा सदस्यले गरेकाे वार्तालाप, भ्रष्टाचार, कमिसन आदिबारे संसद् चुप लागेर बस्न हुँदैन, त्यसकारण आजकै दिनमा यही बैठकबाट एउटा संसदीय समिति बनाएर यो घटनाको निश्पक्ष छानबिन गर्नका लागि म माग गर्दछु'- उहाँले भन्नुभयाे । खराब राेग भनेकाे भ्रष्टाचार रहेकाे भन्दै सांसद् गुरुङले यसलाई राेक्नुपर्ने बताउनुभयाे ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने भन्दै करोडौं रकम लेनदेन गरेको समाचार बाहिरिएकोप्रति पनि सरकारले छानबिन गर्नुपर्ने उहाँले बताउनुभयाे । सो प्रकरणमा ठूला नेताहरुको नाम जोडिएको भन्दै सांसद् गुरुङले जति ठूला नेताको नाम जोडिएपनि कानुनी कठघरामा ल्याउनुपर्ने बताउनुभयाे ।
