काठमाडाैं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद् प्रेम सुवालले सत्ता गठबन्धनले सिंहदरबालाई भ्रष्टाचारकाे अखडा बनाउन खाेजेकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् सुवालले ५ पटक मन्त्री भएका एक जनाले मन्त्री भनेकै अर्बौं भ्रष्टाचार गर्ने पद भएको भनी आफ्नो रणमा लेखेको बताउनुभयाे । सत्ता गठबन्धनकै एक सांसद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्री हुन पार्टीलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने बताएको टेलिफोन रेकर्ड सार्वजनिक हुनुले पूर्वमन्त्रीले लेखेको स्मरण पुष्टि भएको उहाँले बताउनुभयाे ।
'गठबन्धनले सिंहदरबारलाई भ्रष्टाचारकाे अखडा बनाउन खाेजेकाे हाे र ? गठबन्धनका नेताले यसबारे सदनमा बाेल्न जरुरी छ'-सांसद् सुवालले भन्नुभयाे ।
सत्ता गठबन्धनकै एक सांसद्काे लगानी भएकाे ललितपुरकाे बखुण्डाेलमा समिट अपार्टमेन्ट बनाउन उपकरण चलाइँदा सन्धियारका घरहरु भासिएकाे र ज्यान जाेगाउन रातारात अन्यत्र सर्नुपर्ने अवस्था आएकाे उहाँले बताउनुभयाे । कांग्रेस सांसद् विनाेध चाैधरीतर्फ लक्षित गर्दै ती सांसद्काे एक वर्षमा ४० अर्ब नाफा भइसकेकाे भन्दै सांसद् सुवाललले प्रश्न गर्नुभयाे - 'तर सरकारलाई कति राजश्व तिरे ? त्याे सार्वजनिक भएन यसबारे पनि सत्ता गठबन्धनका सम्बन्धित दल बाेल्नुपर्छ ।'
८ सय ७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन कराेडाैं ठगी भएकाे भन्दै उहाँले अख्तियार दुरुपयाेग अनुसन्धान के गर्दै भन्दै प्रश्न गर्नुभयाे । सत्ता गठबन्धनका एक नेताले गृहयुद्धताका मारिएका १९ हजारमध्ये प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ हजार मात्र जिम्मा लिने हाेइन बाँकीकाे पनि जिम्मा लिनुपर्ने बताउनुभएकाे भन्दै सांसद् सुवालले यसबारे गठबन्धन बाेल्नुपर्ने बताउनुभयाे ।
