काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ राष्ट्रिय सभाबाट पारित भएकाे छ ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठकले ती दुवै विधेयकलाई सर्वसम्मतिले पारित गरेकाे हाे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट कृषि तथा पशुपन्छी मन्त्री डा. वेदुराम भुसालले प्रस्तुत गर्नुभएको ती विधेयकलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ पेस गर्दै विधेयक पारित भएकाे घाेषणा गर्नुभयाे ।
राष्ट्रिय सभामा उत्पत्ति भएका यी दुवै विधेयक अब सन्देशसहित प्रतिनिधि सभामा पठाइनेछ ।
त्यसअघि प्रस्तावमाथिको छलफलका क्रममा सांसद्हरुले विधेयकलाई समयसापेक्ष बनाउनुपर्ने बताउनुभएकाे थियाे । मन्त्री भुसालले विधेयकहरुलाई प्रतिनिधि सभामा पनि गहन छलफल गरी समृद्ध तुल्याइने बताउनुभएकाे थियो ।
बैठकमा प्रधानमन्त्रीका तर्फबाट मन्त्री डा. भुसालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८-७९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं वार्षिक २०७८-७९ प्रतिवेदन प्रस्तुत गर्नुभयो । राष्ट्रिय सभाको अर्को बैठक चैत ३० गते बस्नेछ ।
