काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले देशकाे अर्थतन्त्र इतिहासकै खराब अवस्थामा पुगेकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै प्रमुख सचेतक गिरीले देशकाे अर्थतन्त्र संकटतर्फ धकेलिँदा समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आश्वासन र निर्देशन दिँदै हिँडेकाे बताउनुभयाे ।
सरकार बनेदेखि एउटा पनि उपलब्धि नभएकाे र संसद्ले पनि बिजनेस नपाएकाे उहाँले बताउनुभयाे । मुलुकमा आर्थिक संकट गहिरिएकाे, उद्याेगी व्यवसायी धराशाही भएका, मजदूर र किसानले हातमुख जाेर्ने अवस्था नभएकाे, युवाहरु गहभरी आँसु बाेकेर विदेशिएका र बेराेजगारी बढेकाे प्रमुख सचेतक गिरीले बताउनुभयाे ।
गठबन्धन सरकारका कारण आम जनतामा निराशा छाएकाे उहाँले बताउनुभयाे । प्रमुख सचेतक गिरीले भन्नुभयाे - 'एकप्रकारले भन्ने हाे भने आम जनतामा निशासा बढिरहेकाे छ, यस्ताे स्थितिमा प्रधानमन्त्रीज्यूले सदनमा आएर यस विषयमा सदनलाई आश्वस्त पार्नुपर्थ्याे ।'
सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशकाे अर्थतन्त्र ध्वस्त भएकाे र वैशाखदेखि कर्मचारीलाई तलब दिन पनि ऋण लिनुपर्ने अवस्था आएकाे बताउनुभएकाे भन्दै उहाँले यस विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीलाई कुनै चासाे नभएकाे बताउनुभयाे । प्रमुख सचेतक गिरीले भन्नुभयाे - 'त्यही कुरा प्रधानमन्त्री र अर्थमन्त्री किन बाेल्नुहुन्न ? सदनलाई किन जानकारी दिनुहुन्न ? देश आज बर्बाद हुँदैछ डुब्दैछ, भन्ने कुरा ।'
प्रधानमन्त्री प्रचण्डलाई पद र सत्ता बाहेक अरु केहीकाे मतलब नभएकाे बताउँदै गिरीले भन्नुभयाे - 'रोम जल्दा निरोले आनन्द लिएझै प्रधानमन्त्रीज्यू बालुवाटाभित्र सत्तामै निम्ति सत्ताकाे फाेहाेरी खेल खेलेर आनन्द लिइरहनुभएकाे छ, उहाँले जनताकाे दुनियाँकाे कुनै चिन्ता छैन ।'
देशमा भ्रष्टाचार माैलाएकाे र महंगीले आकाश छाेएकाे बताउनुभयाे ।
