काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले वास्तविक मिटरब्याजी सरकार भएकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै प्रमुख सचेतक शाहीले भएभरको पैसा बैंकमा राखेर ब्याज खाने वास्तविक मिटरब्याजी सरकार आफैं भएकाे बताउनुभयाे । सरकारले विकास बजेट रोकेर ब्याज खाएकाे उहाँले बताउनुभयाे ।
'वास्तविक मिटरब्याजी सरकार हाे, सरकारले फिक्स डिपाेजिट राज्यकाे पैसा मात्रै २ खर्ब ११ अर्ब रुपैयाँ गरेकाे छ, निर्माण व्यवसायी र अन्यलाई रकम नदिएर करिब ३ खर्ब ६२ अर्ब ७७ कराेड रुपैयाँ सरकारी खातामा राखेर ब्याज खाइरहेकाे छ, सरकारले अहिले पनि ८ दशलव ५ प्रतिशत ब्याज सरकारी रकम राखेर दिइरहेकाे छ'- प्रमुख सचेतक शाहीले भन्नुभयाे ।
अहिले करिब सय बढी मानिस बैंककाे ब्याज बेलैमा तिर्न नसकेर मृत्युवरण गर्नुपर्ने अवस्थामा रहेकाे उहाँले बताउनुभयाे । गत ८ महिनामा चालु खर्च ५१ दशमलव ४६ प्रतिशत, पुँजीगत खर्च २२ दशमलव १५ प्रतिशत र ३७ दशमलव ४१ प्रतिशत खर्च गरेकाे भन्दै प्रमुख सचेतक शाहीले भएभरकाे पैसा असारमा मात्रै खर्च गर्ने काम सरकारले गरेकाे बताउनुभयाे ।
'भएभरकाे पैसा बैंकमा राख्ने, ब्याज खाने, वास्तविक मिटरब्याजी काेही छ भने सरकार छ, यसरी सरकारी पैसा ढुकुटीमा राखेर निर्माण व्यवसाय र विकास निर्माणका काम ठप्प भएका छन्,याे छिटाे भन्दा छिटाे खुलाइयाेस्, यसरी बैंकमा पैसा राखेर जनतालाई अलमल पार्ने काम नगरियाेस्, कर्मचारीले तलब खान पाएका छैनन्, निर्माण व्यवसायीले पैसा पाएका छैनन्, यसबारे नियमावली अनुसार सम्बन्धित मन्त्रीले ७ दिनभित्र जवाफ दिनुपर्छ, हाेइन भने हामी संसद्मा विराेधसाथ खडा हुनेछाैं' - उहाँले भन्नुभयाे ।
