काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनलाई सदनमा पेस गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बाेल्दै मन्त्री मोदीले संघीय निजामती सेवा ऐनलाई सदनमा पेस गर्न पहिलो दिनदेखि नै आफू लागिपरेको भन्दै चाँडै नै साे ऐन पेस हुने जानकारी दिनुभयाे । उहाँले ऐनलाई अघि बढाउनका लागि आफूले सबै सरोकारवालहरुसँग छलफल गरेर विवादीत विषयलाई हल गरेको बताउनुभयो ।
संघीय निजामती सेवा ऐन निकै पेचिलो बन्दै गएको भन्दै मन्त्री माेदीले उक्त ऐन आए संघीय संरचनामा देखिएका केही समस्याहरु हल भएर जाने बताउनुभयो । ऐनमा रहेका विषयहरुलाई आवश्यकता अनुसार परिमार्जन गर्न सकिने भन्दै उहाँले अहिलेकै संसद्बाट ऐनलाई अघि बढाउनुपर्ने बताउनुभयाे ।
उहाँले स्थानीय तथा प्रदेश तहले आफू अनुकूलको कर्मचारी माग्ने गरेका कारण समस्या हुने गरेको पनि बताउनुभयो ।
