काठमाडौं । नेपाली कांग्रेसका सांसद् दीपक खड्काले नेपाल-चीन जोड्ने संखुवासभाको किमाथांका नाका खाेल्नका लागि पहल गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् खड्काले तत्कालै चीनसँग वार्ता गरेर साे नाका खुलाउन सरकारसँग माग गर्नुभयाे । 'किमाथांका नाका हालसम्म पनि बन्द छ, आवतजावत पनि ठप्प छ, नेपाल सरकारले तत्कालै चीन सरकारसँग वार्ता गरेर यो नाका खुलाउनका लागि म आग्रह गर्छु'-उहाँले भन्नुभयाे ।
संखुवासभा सदरमुकामबाट भोटखोला गाउँपालिका जोड्ने बाटो वर्षायाममा ठप्प हुने भएकाले खाद्यान्न ढुवानीमा समस्या हुने भन्दै सांसद् खड्काले समयमै खाद्यान्न पुर्याउने व्यवस्था गर्न सरकारसँग माग गर्नुभयाे । 'संखुवासभा सदरमुकामबाट जोड्ने एक मात्र बाटाे वर्षायाममा ठप्प हुन्छ, ६ महिनालाई खाद्यान्न स्टाेर गर्नुपर्ने हुन्छ, भोटखोला गाउँपालिकामा खाद्यान्न ढुवानी नहुँदा र भण्डारण समेत नहुँदा त्यहाँ साढे ६ हजार भन्दा बढी जनसंख्या भोकमरीमा पर्ने अवस्था छ, त्यसाे भएकाले सरकारकाे ध्यानाकर्षण गराउन चाहान्छु र सम्बन्धित निकायले ६ महिनाका लागि पुग्ने खाद्यान्नकाे व्यवस्था बेलैमा गराेस्'- उहाँले भन्नुभयो ।
