काठमाडाैं । सांसद्हरुले तत्काल संघीय निजामती सेवा एेन सदनमा ल्याउन सरकारकाे ध्यानाकर्षण गराएका छन् ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बाेल्नुभएकाे सार्वजनिक महत्त्वको विषयमा जिज्ञासा राख्ने क्रममा सांसद्हरुले साे एेन कहिले जारी हुन्छ भन्दै प्रश्न गरेका छन् ।
बैठकमा नेकपा एमालेका सांसद् ठाकुर गैरेले अहिलेसम्म १ सय ७० गाउँपालिका र १ सय नगरपालिका कार्यकारी प्रमुखबिहीन रहेका भन्दै ती ठाउँमा किन कार्यकारी खटाउन सकिएकाे छैन भन्दै प्रश्न गर्नुभयाे । उहाँले संघीय निजाती एेन सदनमा कहिले प्रस्तुत हुन्छ भन्ने प्रश्न गर्नुभयाे ।
एमालेकै सांसद् भगवति चाैधरीले पनि संघीय निजामती सेवा एेन तत्काल ल्याउन माग गर्नुभयाे ।
नेपाली कांग्रेसका सांसद् दिलेन्द्रप्रसाद बडूले पनि तत्काल संघीय निजामती सेवा एेन सदनमा ल्याउन माग गर्नुभयाे । कर्मचारीकाे सरुवा बढुवा लगायत धेरै समस्याकाे समाधान त्यसमा रहेकाे भन्दै उहाँले मन्त्री माेदी साे एेन कहिले जारी हुन्छ भन्नेमा अलमल रहेकाे बताउनुभयाे । 'त्यसकारण याे कहिले आउँछ ? भन्नुभयाे भने समस्या समाधानकाे प्रयास हुन्छ'- बडूकाे भनाइ छ ।
कांग्रेसकै सांसद् विश्वप्रकाश शर्माले न्यायपूर्ण तरिकाले एेन आउनुपर्ने बताउनुभयाे । कांग्रेसकै सांसद् रमा काेइराला पाैडेलले पनि कर्मचारीकाे मनाेबल नघट्नेगरी साे एेन ल्याउन माग गर्नुभयाे । उहाँले ट्रेड युनियनकाे अधिकारकाे सुनिश्चितता पनि गर्नुपर्ने बताउनुभयाे ।
जनता समाजवादी पार्टी (जसपा) की सांसद् रञ्जुकुमारी झाले तत्काल संघीय निजामती सेवा एेनकाे एकदमै खाँचाे रहेकाे भन्दै तत्काल ल्याउन माग गर्नुभयाे ।
