काठमाडाैं । कोशी प्रदेशको प्रदेश सभाको चालु प्रथम (हिउँदे) अधिवेशन अन्त्य भएको छ ।
प्रदेश मन्त्रिपरिषद् बैठककाे सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बुधबार अधिवेशन अन्त्य गर्नुभएकाे हाे । बुधबार राति १२ बजेदेखि लागू हुने गरी चालू अधिवेशन अन्त्य भएको प्रदेश प्रमुखकाे कार्यालयले जारी गरेकाे सूचनामा उल्लेख छ ।
'संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को मिति २०७९-१२-२९ गतेको सिफारिशमा संवत २०७९ साल चैत २९ गते बुधबार रातको १२ बजेदेखि प्रदेश सभाको चालु प्रथम अधिवेशन अन्त्य गर्नुभएको छ'-सूचनामा लेखिएकाे छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेकाे थियाे । चालु प्रदेश सभाकाे पहिलाे अधिवेशन प्रदेशकाे नामाकरण गर्न सफल भएकाे छ । गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले प्रदेशको नाम कोशी नामकरण गरेको थियो । प्रदेश निजामती सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन अध्यादेश पनि जारी गरेकाे थियाे ।
