काठमाडौं । प्रतिनिधि सभा सदस्य तारा लामाले कञ्चनपुरको बेलौरीमा विद्युत् लाइन विस्तारको क्रममा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई भारतीय सेनाले रोकेको भन्दै आपत्ति जनाउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै लामाले भारतीय सुरक्षाकर्मीले कहिले हुलाकी मार्ग बनाउँदा त कहिले विद्युत् लाइन तान्दा नेपालीलाई दुःख दिएको बताउनुभयो । भारतले सिमानामा नेपालीलाई बारम्बार दुःख दिएको भन्दै उहाँले खेद व्यक्त गर्नुभयो ।
भारतीय अत्याचार अति भएको उहाँले बताउनुभयो । भारतीय सुरक्षा कर्मीले जहिले पनि दुःख दिने भएकोले सीमा समस्या समाधान गरी त्यहाँका जनतालाई सुरक्षा प्रदान गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।
भारतीय ज्यादतीको विरोध गर्दा २०७३ साल फागुन २६ गते स्थानीय गोविन्द गौतम मारिएका उहाँले स्मरण गराउनुभयो । ‘गोविन्द गौतमले साहदत प्राप्त गरे जस्तो त्यहाँको जनताले फेरी नगरोस्’, उहाँले भन्नुभयो ।
