काठमाडौं । नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले बाँदर आतंक नियन्त्रण गर्न सरकारसँग माग गर्नुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् खतिवडाले बाँदर निकासी गर्न वा मार्ने अनुमति दिन सरकारसँग माग गर्नुभयाे ।
श्रीलंकाले बाँदर निकासी गरेकाे प्रसंग निकाल्दै उहाँले देशमा आर्थिक संकट परेका बेला बाँदर निकासी गर्न पाए नेपाललाई राम्रै हुने बताउनुभयाे । 'भर्खरै पनि चर्चा चल्याे देशमा बाँदर आतंक छ, मैले एउटा समाचार पढेको थिएँ, श्रीलंकाले बाँदर चीनतिर निकासी गरेछ र बेचेछ, हाम्रो पनि आर्थिक संकट परिराखेको छ, केही बाँदरहरु चीनतिर लाने व्यवस्था गरियोस् भनेर सभमुखमार्फत अनुरोध गर्न चाहन्छु, कि मार्ने अनुमति दिइयोस्' - खतिवडाले बताउनुभयाे ।
ओखलढुंगामा २ वटा विमानस्थल रहेका भन्दै उहाँले ती दुवै विमानस्थल तत्काल सञ्चालन हुने व्यवस्था गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । सांसद् खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराउनुभयाे भनेर सूचना जारी गर्ने नेकपा एमालेका सांसद् रघुजी पन्तप्रति पनि कटाक्ष गर्नुभयाे । प्रधानमन्त्रीलाई भेट्न दिउँसाे ३ बजे शीतल निवासमा उपस्थित हुन समेत उहाँले पन्तलाई सुझाव दिनुभयाे ।
