काठमाडाैं । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संघीय निजामती सेवा ऐन चाँडै नै सदनमा पेस गरिने बताउनुभएकाे छ ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष ०७५-७६, ०७६-७७ र ०७७-७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, २०७९ माथिको छलफलमा सांसद्ले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले संघीय साे ऐन चाँडै नै ल्याइने बताउनुभयाे ।
सरकारले सो ऐनलाई अत्यन्तै प्राथमिकतामा राखेर अघि बढाएको र अहिले त्यो कानुन मन्त्रालयमा छलफलको अन्तिम चरणको रहेको उहाँले बताउनुभयाे । 'संघीय निजामती सेवा एेनकाे विषय सरकारकाे पनि प्राथमिकताकाे विषय हाे, याे करिबकरिब अन्तिम चरणमा पुगेकाे छ, संघीय मामला कानुन मन्त्रालयमा पुगेकाे छ, याे मन्त्रिपरिषद्मा ल्याएर चाँडाे भन्दा चाँडाे संसद्मा पेस गर्ने तयारीमा छाैं'- मन्त्री शर्माले बताउनुभयाे ।
कर्मचारीको सरुवाको विषय व्यवस्थित नभएको भन्दै उहाँले यसलाई व्यवस्थित गरिने बताउनुभयाे ।
