काठमाडाैं । नेकपा एमालेका सांसद् सोनाम ग्याल्जेन शेर्पाले अहिलेकाे सरकार सदनप्रति उत्तरदायी नभएकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष ०७५-७६, ०७६-७७ र ०७७-७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, २०७९ माथिको छलफलमा बाेल्दै उहाँले सरकार संसद् र संसदीय समितिप्रति जवाफदेही नभएकाे बताउनुभयाे ।
सांसद् शेर्पाले भन्नुभयाे - 'संसद्प्रति सरकार उत्तरदायी हुनुपर्ने, मिनी संसद्को रुपमा रहेको संसदीय समितिहरुले ल्याएको प्रतिवेदनप्रति सरकार जुन किसिमले गम्भीर हुनुपर्ने हाे त्याे गम्भीर देखिएन, मिनी संसद्मा हामी मन्त्रीहरू बोलाउछौं, सचिवहरु बोलाउँछौं, उहाँहरु पनि गम्भीर रुपमा प्रस्तुत हुन नचाहने र झारो टार्ने एउटा प्रक्रियाको रुपमा अगाडि बढाउने र त्यसलाई गम्भीरतापूर्वक नलिएको देखियो, यसमा म सरकारकाे ध्यानाकर्षण गराउन चाहान्छु ।'
याेजनाहरुमा व्यवस्थापनकाे पक्रिया जटिल र झाराे टार्ने खालकाे रहेकाे भन्दै उहाँले मुआब्जा दिइसकेका जग्गालाई तत्काल सरकारकाे स्वामित्वमा ल्याउनुपर्ने बताउनुभयाे ।
निजगढ विमानस्थलकाे विषयमा पनि वर्षौंदेखि कुराकानी भएको भन्दै सांसद् शेर्पाले यसबारे सरकारको स्पष्ट धारणा आउनुपर्ने बताउनुभयाे ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दिगोपनाबारे ध्यान दिन उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
यसअघिकाे सरकारले गरेका कामलाई दिगाेपन र संस्थागत गर्नतिर साेच्नुकाे सट्टा फेल हुन्छ भनेर अनेक टिकाटिप्पणी गर्न आवश्यक नरहेकाे शेर्पाले बताउनुभयाे । पशुपति क्षेत्र विकास काेषमा देखिएका समस्या समाधान गर्न पनि सांसद् शेर्पाले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
