काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याजी पीडितमाथि सरकारले आक्रमण गरेको भन्दै आपत्ति जनाउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै राप्रपा अध्यक्ष लिङ्देनले सरकारले राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उल्टै गरिब निमुखामाथि आक्रमण गर्नु निन्दनीय रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'देशमा कसैले पनि अन्यायमा पर्नुपर्दैन, हेपिनुपर्दैन, निमुखाहरुका लागि राज्य अभिभावककाे रुपमा उभिनुपर्ने ठाउँमा, न्यायकाे माग गर्दै आएका मिटरब्याज पीडितलाई सरकारले हिजाे जुन ढंगले आक्रमण गरेकाे छ, त्यसकाे म निन्दा र भर्त्सना गर्दछु ।'
समाजमा सर्वहारा वर्गकाे अधिनायकत्व स्थापना गर्नेछाैं भन्ने सपना बाँड्ने पार्टी र उसकाे नेतृत्वमा सरकार भएकै बेला गरिब र निमुखामाथि किन बर्बर आक्रमण भइराखेकाे छ भन्दै प्रश्न अध्यक्ष लिङ्देनले प्रश्न गर्नुभयाे ।
मिटरब्याजीपीडित र हरवाचरवाको माग तत्काल पूरा गर्न माग गर्दै उहाँले मिटरब्याजीपीडित र हरवाचरवाको माग पूरा नगरे राप्रपा सडक संघर्षमा उत्रने चेतावनी दिनुभयाे । अध्यक्ष लिङ्देनले भन्नुभयाे - 'मिटरब्याजपीडितहरू, खासगरी तराईमा हरवाचरवा जाे पुनःस्थापना माग गरिरहेको छ, उनीहरुका माग समयमै सरकारले सम्बोधन गरोस्, अन्यथा एउटा जिम्मेवार पार्टीको हैसियतले राष्ट्रिय प्रजातन्त्र पार्टी सडक संघर्षमासम्म जाने घोषणा गदर्छु ।'
