काठमाडौं । प्रतिनिधि सभा सदस्य निशा डाँगीले काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै डाँगीले वायु प्रदूषण नियन्त्रण र रोकथाम गर्न सरकारले चालेको कदमका बारेमा स्पष्टीकरण माग गर्नुभएको छ । उहाँले सरकारलाई प्रदूषण नियन्त्रण गर्न सरकारलाई योजना बनाएर काम गर्न पनि सुझाव दिनुभयो । ‘काठमाडौं संसारकै प्रदूषित सहरको पहिलो सूचिमा परेको छ, काठमाडौंका एयर क्वालिटी इन्डेक्स २ सय ८ छ भने दोस्रो स्थानमा थाइल्याण्डको चियाङमाई सहर रहेको छ जसको एयर क्वालिटी इन्डेक्स १ सय ८३ रहेको छ’, उहाँले भन्नुभयो ।
काठमाडौं विश्वको प्रदूषित सहरको सूचिमा पर्ने घटना पहिलो नभएको भन्दै उहाँले योजना बनाएर काम नगर्ने हो भने अवस्था अझ जटिल बन्ने बताउनुभयो । ‘वायु प्रदूषण नियन्त्रण र रोकथामका लागि अल्पकालीन, मध्याकालीन र दीर्घकालीन योजनाहरू के के बनाइएका छन् ? तिनको कार्यान्वयनको अवस्था के, कस्तो छ भन्ने सम्बन्धित निकायले सदनलाई जानकारी दिनका लागि सभामुखमार्फत अनुरोध गर्न चाहन्छु’, उहाँले भन्नुभयो ।
डाँगीले नेपाली उत्पादनलाई प्रोत्साहित गर्ने होइन नीतिगत रूपमा नै तिनीहरूलाई निमोठ्ने काम सरकारले गरेको उहाँले बताउनुभयो । कहिले कानुन बनाएर त कहिले कानुन बदले र कहिले कानुन नै नबनाएर नेपाली उत्पादनलाई रोक्ने काम भएको भन्दै उहाँले आलोचना गर्नुभयो ।
नेपाली उद्यमीका आवाज राज्यले सुन्ने कुराको ग्यारेन्टी गरिनु पर्ने उहाँले बताउनुभयो । यसो नगरिने हो भने नेपालमा उद्यम विकास नहुने उहाँले प्रष्ट पार्नुभयो ।
