काठमाडौं । प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्याङ्कन गर्दा नागरिकले तिरो तिर्न नसक्ने अवस्था बनेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै केसीले सरकारको यो नीति पुनरावलोकन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आफूले भोग चलन गरेको जग्गा सबै बेच्दा पनि राजश्व तिर्न नसक्ने अवस्था बनेको भन्दै यसमा पुनर्विचार गर्न आवश्यक रहेको बताउनुभयो । ‘भू उपयोग नीति, भूमि ऐन र गठन आदेशले खेतीयोग्य जमिनलाई बाटोलाई आधार बनाएर जग्गाको मूल्याङ्कन गरिँदा जनता राजश्व तिर्न नसक्ने अवस्थामा पुगेका छन्’, केसीले भन्नुभयो ।
सुकुम्वासी र अव्यवस्थित बोसवासीको लागि दश वर्षसम्म जग्गा बिक्री गर्न नपाउने प्रावधान पनि अव्यवहारिक भएको उहाँले बताउनुभयो । ‘आफूले भोग चलन गरेको जग्गा बेच्नै नपाउने, यो नेपालमा मात्र हो कि, अन्त पनि छ संसारमा यस्तो व्यवस्था ?’ केसीले प्रश्न गर्नुभयो ।
केसीले अहिलेसम्म सुकुम्वासी र अव्ययस्थितको व्यवस्थापनका लागि दर्जनौँ आयोग बनेका भए पनि सुकुम्वासी भने हेरेको हेरेकै भएको गुनासो गर्नुभयो । बाटाको छेउमा जग्गा पाएका सुकुम्वासीले सो जग्गा भोग चलन गर्ने गरी राजश्व नै तिर्न नसक्ने उहाँले बताउनुभयो ।
