काठमाडाैं । नेकपा एमालेकी सांसद् सरस्वती सुब्बाले मिटरब्याज पीडित किसानहरुको समस्या तत्काल समाधान गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् सुब्बाले आफ्नाे पीडा सुनाउन आएका मिटरब्याजी पीडितलाई सरकारले उल्टै दु:ख दिएकाे भन्दै आपत्ति जनाउनुभयाे ।
उहाँले भन्नुभयाे - 'आफ्नाे अधिकारका लागि स्वतन्त्रपूर्वक आवाज उठाउन पाउनु सबै नागरिकलाई लाेकतान्त्रिक गणतन्त्रले दिएकाे उपहार हाे, देशमा कसैले ठगिनपर्दैन, हेपिनुपर्दैन, निर्धा र कमजाेरका लागि राज्य अभिभावक हाे भन्ने उखान सानाेमा सुनेकाे थिएँ, आफ्नाे पीडा लिएर मिटरब्याजी पीडित किसानहरु भद्रकालीमा धर्ना बस्न आउँदाखेरी याे सरकारले टाउकाे फुटाउने र पानीका फाेहाेराले हान्ने काम गरेकाे छ ।'
सांसद् सुब्बाले अहिलेकाे सरकारले आफू पक्षका आन्दाेलनकारीलाई वार्तामा बाेलाउने र अरुलाई टाउकाेमा लाैराे बर्जाउने काम गरेकाे भन्दै आपत्ति जनाउनुभयाे ।
मिटरब्याजी पीडित किसानका समस्या समाधान नगरे आफूहरु आन्दाेलनमा उत्रने चेतावनी पनि उहाँले दिनुभयाे । सांसद् सुब्बाले भन्नुभयाे -'सरकार नजिकका पीडितहरु २ दिन मात्रै आन्दाेलन गर्दा पनि आन्दाेलनकारीसँग सहमति गर्ने, समिति बनाउने, आयाेग बनाउने र सहानुभूति दिने काम गर्ने, सरकार बाहिरका आन्दाेलनकारी महशुस हुनाबित्तिकै टाउकाेमा लाैराे बजाउने काम भएकाे छ, म सरकारलाई के अनुराेध गर्न चाहान्छु भने - नागरिक सबैका साझा हुन्, मिटरब्याज पीडितकाे देशभरिकाे अवस्थालाई हेरेर याे समस्या समाधान गर्न सरकार लागाेस्, अन्यथा आन्दाेलनमा हुनेछाैं ।
