काठमाडौैं । प्रतिनिधि सभा सदस्य डा. आर्जु राणाले नेपालको सामुदायिक शिक्षामा ठुलो प्रश्न उठेको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै राणाले नेपालका विश्व विद्यालयमा समेत विद्यार्थी भर्ना घट्नु राम्रो लक्षण नभएको बताउनुभयो । शिक्षामा दण्ड र पुरस्कारको व्यवस्था नगर्ने हो भने शिक्षाको अवस्था अझ कमजोर हुने उहाँले बताउनुभयो ।
शिक्षा गुणस्तर सुधारको लागि सामुदायिक विद्यालयमा पनि अङ्ग्रेजी माध्यम पठनपाठनको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘सम्पूर्ण सरकारी शिक्षा क्षेत्रको पुनरावलोकनको लागि नेपाल सरकारलाई निर्देशन गरिदिनु हुन अनुरोध गर्दछु’, राणाले भन्नुभयो ।
सरकारी शिक्षा क्षेत्रमा लगानी अनुसार प्रतिफल आउन नसकेको उहाँले बताउनुभयो । ‘शिक्षा क्षेत्रको सुधार तथा सुशासन अभिवृद्धि गर्न आवश्यक छ’, उहाँले भन्नुभयो ।
आधारभूत तथा माध्यमिक तहको शिक्षामा निरन्तर मूल्याङ्कन र रेकर्डका लागि पृष्ठपोषण प्रदान गर्नुपर्ने उहाँले बताउनुभयो । पनि विद्यालय व्यवस्थापन समिति गठनमा राजनीतिकरण हुने गरेको भन्दै राणाले त्यसलाई रोक्नु पर्नेमा जोड दिनुभयो ।
