काठमाडौं । प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले प्रधानमन्त्री संसद् प्रति उत्तरदायी नभएको भन्दै आलोचना गर्नुभएको छ ।
उहाँले प्रधानमन्त्रीलाई संसद्प्रति उरदायी हुन आग्रह गर्नुभयो । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सिंहले भन्नुभयो, ‘आज पनि हाम्रो प्रधानमन्त्री लापता हुनुभएको महसुस भएको छ’, उहाँले भन्नुभयो ।
सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपीहरूलाई कारबाही नगरेको भन्दै आपत्ति प्रकट गर्नुभयो । आयोगले धेरैजसो मुद्दा तामेलीमा पन्छाउने गरेको भन्दै उहाँले आलोचना गर्नुभयो । त्यस्ता मुद्दामा अख्तियारले बयान समेत नलिएकाे उहाँले बताउनुभयाे ।
अख्तियारले ठूला नेताले जे गरे पनि माफी दिने र साना कर्मचारीलाई मात्रै मुद्दा चलाउने गरेको भन्दै उहाँले आलोचना गर्नुभयो । योजनाकारहरू एकजना पनि नपर्ने र खर्दार सुब्बाहरू मात्र कारबाहीमा नपर्ने उहाँले बताउनुभयो । ‘अख्तियारले राजनीतिक प्रभावबाट डराइकन पद जान्छ कि, महाभियोग लाग्छ कि भनेर खुट्टा कमाउनुभएन’, उहाँले भन्नुभयो ।
उहाँले पार्टीका ठुला नेता कारबाही गर्दा जागिर जाने हो कि भनेर कतिञ्जेल काम्ने ? भन्दै अख्तियारका अधिकारीलाई प्रश्न गर्नुभयो । सिंहले भ्रष्टाचार गर्ने जो कोही भए पनि कारबाही गर्न डराउन नहुने बताउनुभयो ।
