काठमाडौं । प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नेताहरूले खेलाउने थलो बनाएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले यसो हुनुमा आयोग दोषी नभई कानुन बनाउने नै दोषी भएको बताउनुभयो । आयोगमा राजनीतिक मानिसलाई रोजी राजी लैजाँदा आयोगले काम गर्न नसकेको उहाँले बताउनुभयो ।
अख्तियार केवल अनुसन्धानमा मात्र सीमित रहेको उहाँले बताउनुभयो । हाम्रो पालामा मात्र होइन, आयोगले नातिहरूका पालामा पनि अनुसन्धान नै गरिरहने उहाँले टिप्पणी गर्नुभयो ।
अख्तियारलाई प्रभाकारी बनाउन आयुक्तहरू लोक सेवा आयोगबाट नियुक्त गर्नुपर्ने उहाँले बताउनुभयो । ‘लोकसेवा आयोगबाट नियुक्त गरौँ न’, उहाँले भन्नुभयो ।
अख्तियारले मुद्दा चलाउने बित्तिकै नेताहरूले महाअभियोग ल्याउने र आयुक्तलाई हटाउने उहाँले बताउनुभयो । त्यसैले अख्तियारले ठुला माछा मात्र होइन साना माछा मात्रै समातेको उहाँले दाबी गर्नुभयो । अहिलेकै व्यवस्थामा अख्तियारले ठुला माछा छुनै नसक्ने उहाँले टिप्पणी गर्नुभयो ।
