काठमाडौं । माओवादी केन्द्रका सांसद् लेखनाथ दाहालले विज्ञापन गर्ने र राजसंस्थाको पैरवी गर्ने थलो सदन नभएको बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद् दाहालले प्रमुख प्रतिपक्षी नेकपा एमाले र राप्रपालाई लक्षित गर्दै विज्ञापन एजेन्सी संस्था र राजसंस्थाको पैरवी गर्ने थलो सदन नभएको बताउनुभयाे ।
अघिल्लाे प्रतिनिधि सभा बैठकमा एमाले सांसद् रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना भन्दै व्यंग्य गरेका थियाे । राप्रपाका सांसद्ले राजसंस्था र हिन्दुराष्ट्र फर्काउनुपर्ने बताएका थिए । त्यसकाे जवाफमा दाहालले त्यसाे भन्नुभएकाे हाे ।
संसद् जनताप्रति र सरकार संसद्प्रति उत्तरदायी हुने भन्दै उहाँले सदनमा भइरहेका बहस अमर्यादित रहेका बताउनुभयाे । 'संविधानकाे जगमा उठेर हामीले छलफल र बहस गर्नुपर्छ, संसद् विज्ञापन एजेन्सी संस्था हाेइन, काेही हराएकाे विज्ञापन गर्न पाइँदैन, काेही पछाडि फर्केर प्रतिगामी काेणबाट २४० वर्षसम्म जनतालाई प्रताडित गर्ने संस्थाहरुकाे जबरजस्त पैरवी गर्ने थलाेका रुपमा संसद्लाई जनताले पत्याउँदैनन्, मान्दैनन्'- दाहाले भन्नुभयाे ।
सेवा प्रवाह र सबै हिसाबले सरकारले जनतामा सकारात्मक उर्जा पैदा गर्ने काम गरिरहेकाे सांसद् दाहालले दाबी गर्नुभयाे । सरकारले देशलाई विकास र समृद्धिकाे बाटाेमा अगाडि बढाउन विभिन्न नारा ल्याएकाे समेत उहाँले बताउनुभयाे ।
नीति तथा कार्यक्रममाथि बहस गर्न ढिला भइसकेकाे पनि उहाँले बताउनुभयाे ।
