काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सुमना श्रेष्ठले सदनमाथि सरकारकाे हालीमुहाली बन्द गर्न आग्रह गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् श्रेष्ठले सरकारकाे मनाेमानीमा सदनको समय र देशको ढुकुटी रित्याइने चलन अन्त्य हुनुपर्ने बताउनुभयाे ।
एकपटक प्रतिनिधि सभा बैठक बस्दा लाखाैं रुपैयाँ खर्च हुने गरेकाे भन्दै उहाँले मन्त्रिपरिषद् बैठकका लागि सदनकाे बैठक राेकिएकाेमा आपत्ति जनाउनुभयाे । 'हिजाेकाे अधिवेशन आकस्मिक रुपमा स्थगित भयाे, क्याबिनेट मिटिङ ४ बजे छ भनेर सुन्नमा आयाे, समय नजुध्नेगरी समय मिलाउन सक्दैनथ्याे यी दुईवटा बैठककाे ? हिजाे मलाई सन्चाे थिएन, तरपनि अख्तियारसम्बन्धी महत्वपूर्ण विधेयकमा छलफल हुने भनेर आएँ, आम नागरिकले सरकारी कार्यालय सबै कागजात र प्रक्रिया पुर्याएर घण्टाैं लाइन बसेपनि अचानक ल आज काम हुँदैन भाेलि आउनुस् भन्छन्, त्यसरी व्यवहार गरिने देश हाे हाम्राे, यहाँ जनताकाे समयकाे मूल्य छैन, हामी जनप्रतिनिधिकाे समयकाे पनि मूल्य नहुने हाे ?'- श्रेष्ठले प्रश्न गर्नुभयाे ।
एक पटक सदन बैठक बस्दा १० लाख हाराहारीमा खर्च हुने समाचार आइरहेका भन्दै उहाँले सरकारकाे मनाेमानीमा सदनकाे समय र देशकाे ढुकुटी रित्याइने पुरानै चलन रहेकाे बताउनुभयाे । 'सरकारले कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्थामा के याे १० लाख रकम हामीले बचाउन सक्दैन्थ्याैं ? के करदाताकाे पैसा त्यति सस्ताे छ ? आफ्नाे खल्तीबाट पैसा नजानेभएपछि मलाई बाल... भन्न पाइन्छ र ? मलाई निक्कै अचम्म लागेकाे छ यसरी अन्तिम घडीमा सरकारकाे मनाेमानीमा सदनकाे समय र देशकाे ढुकुटी रित्याइनेरहेछ, याे त रिती नै बसिसकेकाे रहेछ, कसरी पचेकाे हामीलाई ? गल्तीलाई गल्ती भनाैं, सुधाराैं'- उहाँले भन्नुभयाे ।
सदन र मन्त्रिपरिषद्बीच त समन्वय गर्न नसक्नेहरुले ठूलाे परियाेजनामा धेरै मन्त्रालय र निकायबीच कसरी समन्वय हुन्छ भन्दै सांसद् श्रेष्ठले प्रश्न गर्नुभयाे । 'सडक विभागले आज पिच गर्छ, भाेलि खानेपानीले गएर पिच बिगार्छ, बाटाे चाहिँ घाम लागे धुलाे, पानी परे हिलाे, सदनमाथि सरकारकाे याे हालीमुहाली बन्द गरियाेस्'- उहाँले भन्नुभयाे ।
