काठमाडाैं । गण्डकी प्रदेशमा नेकपा एमाले नेतृत्वकाे सरकार ढलेकाे छ ।
शनिबार बसेकाे गण्डकी प्रदेश सभा बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासकाे मत नपाएपछि एमाले नेतृत्वकाे सरकार ढलेकाे हाे ।
प्रदेश सभा बैठकमा विश्वासमा मत लिने प्रस्तावमाथि भएकाे मत विभाजनमा उहाँको पक्षमा २४ र विपक्षमा ३५ मत परेकाे छ । विश्वासको मत पाउन कम्तीमा ३१ सांसद्को समर्थन जुटाउनुपर्नेमा मुख्यमन्त्री अधिकारीले एमाले र राप्रपाका गरी २४ सांसद्काे मत मात्र पाउनुभयाे ।
नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र दीपक मनाङले अधिकारीलाई विश्वासकाे मतकाे विपक्षमा मतदान गर्नुभयाे ।
केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशमा पनि त्यसकाे प्रभाव परेकाे हाे । सरकार गठन हुँदाकाे सत्ता साझेदार माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले आज दाेस्राे पटक विश्वासकाे मत लिन लिनुभएकाे हाे । अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको माओवादीका मन्त्रीले गत चैत १० गते राजीनामा दिएका थिए ।
एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद् दिपक मनाङेकाे समर्थनमा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे । उहाँले पुस २९ गते प्रदेश सभाबाट विश्वासकाे मत पाउनुभएकाे थियाे ।
