काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले सरकारलाई सदन प्रति उत्तरदायी हुन आग्रह गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै कार्कीले प्रतिनिधि सभा बैठकमा सांसदले उठाएको प्रश्नको सरकारले कुनै जवाफ नदिएको भन्दै आलोचना गर्नुभयो । संसद् सार्वभौम नागरिकका आवाज उठाउने थलो भएकोले नागरिकका आवाजको जवाफ दिन उहाँले सरकारसँग माग गर्नुभयो ।
संसदमा पुग्ने निर्वाचनमा अरबौँ खर्च हुने र एक दिनको संसद् बैठक चलाउन लाखौँ खर्च हुने भए पनि संसद् प्रभाकारी हुन नसकेको भन्दै उहाँले गुनासो गर्नुभयो । जनप्रतिनिधि प्रति नागरिकको आस्था, विश्वास र भरोसा भएकोले त्यसलाई सरकारले मर्न दिनुहुने उहाँले बताउनुभयो । ‘हामी प्रश्न उठाउँछौँ, उत्तर आउँदैन’, उहाँले भन्नुभयो ।
प्रतिनिधि सभाको नियमावलीमा सांसदहरूले उठाएको प्रश्नको जवाफ सात दिन भित्र सम्बन्धित मन्त्रीले दिनु पर्ने व्यवस्था भएको भएन पनि त्यसको बेपत्ता गरिएको कार्कीले बताउनुभयो । उहाँले ललितपुरमा स्वास्थ्य बिमा कहिले आउँछ र भैँसेपाटीको सडक कहिले बन्छ ? भन्दै प्रश्न गर्नुभयो ।
प्रतिनिधि सभा सांसद र सरकारको भन्दा पनि सार्वभौमसत्ता सम्पन्न जनताको आस्था र विश्वासको केन्द्र भएको उहाँले प्रष्ट पार्नुभयो । सरकारलाई सदन प्रति र सदनलाई जनता प्रति उत्तरदायी बनाउनु पर्ने उहाँले बताउनुभयो । प्रतिनिधि सभामा उठेका प्रश्न र त्यसको जवाफ नागिकले हेर्न मिल्ने गरी वेव साइडमा राख्न उहाँले सुझाव दिनुभयो ।
