काठमाडौं । प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले सरकारले नागरिकलाई स्वच्छ पिउने पानी उपलब्ध गराउन नसकेको भन्दै आलोचना गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै तिमल्सिनाले अहिले पनि नागरिकले अरसेनिक मिसिएको दूषित प्राणघातक पानी पिइरहेका बताउनुभयो । रौतहटका नागरिक अहिले पनि दूषित पानी पिउन बाध्य रहेको उहाँले गुनासो गर्नुभयो । ‘२१ औँ सताब्दिमा पनि त्यहाँ स्वच्छ पानी छैन’, उहाँले भन्नुभयो ।
आरसेनिक पानीकै कारण मानिसहरू मर्ने अवस्था रहेको उहाँले बताउनुभयो । ‘अहिलेको २१ औँ सताब्दिमा स्वच्छ पानी दिन नसके सरकारले के दिन सक्ने हो ?’ उहाँले प्रश्न गर्नुभयो ।
तिमल्सिनाले आवश्यक बजेट विनियोजन गरी स्वच्छ पानीको व्यवस्था मिलाउन माग गर्नुभयो । त्यस्तै अहिले पनि रौतहटमा वर्षाको बेलामा ठुलो जनधनको क्षति हुने भएकोले त्यसलाई रोक्न आवश्यक व्यवस्था मिलाउन पनि माग गर्नुभएको छ ।
