काठमाडौं । प्रतिनिधि सभा सदस्य भीमप्रसाद आचार्यले देश गम्भीर आर्थिक संकटमा परेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै आचार्यले सरकारले पूर्व कर्मचारीको पेन्सन, सामाजिक सुरक्षा भत्ता, शिक्षक र प्रहरीको तलब तथा विकास आयोजनाका काम रोकोको बताउनुभयो । विकास आयोजनाको कामको भुक्तानी रोकिएको तथा सबै विकासका काम रोकिएको भन्दै आचार्यले चिन्ता व्यक्त गर्नुभयो ।
उद्योग व्यवसाय संकटग्रस्त भएको बताउँदै आचार्यले धेरै उद्योगी व्यवसायीका सटर बन्द भएको बताउनुभयो । देश चरम आर्थिक मन्दीमा भए पनि मूल्य वृद्धि भने आकासिएको उहाँको भनाइ छ । ब्याजदर बढाएर जमिनदारको ठाउँ बैँकले लिएको उहाँले बताउनुभयो । यस्तो अवस्थामा पनि बैँकहरुले खरबौँ रकम जम्मा गरेका उहाँले सुनाउनुभयो ।
सहकारीलाई नियमन गर्ने निकायले उचित नियमन नगरी आतंकित बनाउने काम गरेका उहाँले बताउनुभयो । सहकारी र लघुवित्तलाई संकटमा पार्ने काम भएको उहाँले बताउनुभयो । ‘त्यहाँ अराजकता छ, त्यहाँ नियमन गर्ने, नियन्त्रण गर्ने कुनै तत्त्व छैन’, उहाँले भन्नुभयो ।
राष्ट्रिय गौरवका योजना निर्माणको काम ठप्प बनाएर राजश्व संकलनको कामलाई नै ठप्प बनाइएको उहाँले बताउनुभयो । सीमा नाकामा कडाइ नगरिँदा राजश्व संकलनमा अराजकता पैदा भएको उहाँको भनाइ छ ।
