काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड रुपैँया माग गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् ढाकाकुमार श्रेष्ठको पद गएको छ ।
मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा प्रतिनिधि सभा सदस्य सांसद ढाकाकुमार श्रेष्ठको पद गएको सूचना दिनुभएको हो । रास्वपा संसदीय दलको बैठकले पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरी उहाँको प्रतिनिधि सभा सदस्य पद खारेजीको लागि राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम संघीय संसद् सचिवालयमा सूचना दिएकोले उहाँको सांसद पद गएको उहाँले जानकारी दिनुभयो ।
सो ऐनको दफा ३५ बमोजिम सभामुखले सभालाई जानकारी गराउनुभएको हो । ऐनको दफा ३६ बमोजिम प्रतिनिधि सभा सो स्थान रिक्त रहेको सभामुखले बताउनुभयो । उहाँ रास्वपाको समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
प्रसाईँसँग २ करोड रुपैँया मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई गत चैत ३० गते पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको थियो ।
