काठमाडौँ । प्रतिनिधि सभा सदस्य रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल भारतले भ्रमणको लागि सम्मानजनक निम्तो नै नगरी भारत भ्रमणमा जाने ताउरमाउरमा लागेको भन्दै आलोचना गर्नुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै पन्तले सदनमा प्रधानमन्त्रीले भारत भ्रमणबारे कुनै जानकारी नगराएको बताउनुभयो । प्रधानमन्त्रीले सदनमा मुख समेत नदेखाएको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘बोलाउनेले सम्मान साथ बोलाए मात्रै देशको प्रधानमन्त्रीले गरिमा साथ जान राम्रो हुन्छ’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीको भारत भ्रमणको विषय महत्त्वपूर्ण रहेको भए पनि बोलाउँदै नबोलाई कसैकोमा पाहुना लाग्न जानु ठिक नहुने बताउनुभयो । भारत भ्रमणमा जानु अघि त्यहाँ छलफल गर्ने विषयमा राष्ट्रिय सहमति बनाएर जान आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
नेपाल र भारत बिच थुप्रै राजनीतिक समस्या भएकोले ती समस्याको बारे भ्रमणको बेलामा खुल्ला छलफल हुनु पर्नेमा पन्तले जोड दिनुभयो । ‘भारतसँगको सम्बन्धमा इतिहासदेखि नै हामीले थुप्रै समस्या झेल्दै आएका छौँ, अहिले पनि ती समस्याहरू विद्यमान छन्’, उहाँले भन्नुभयो ।
भारतसँग १९५० मा भएको सन्धि असमान रहेकोले त्यसमा संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो । त्यो सम्धीमा भएका व्यवस्था फेर्न मनमोहन अधिकार प्रधानमन्त्री हुँदा कुरा उठाउनु भएको भए पनि आजसम्म त्यसलाई आलटाल नै गरिएको भन्दै उहाँले असन्तुष्टि जनाउनु भयो ।
