काठमाडौं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरीले कानुन कार्यान्वयन गर्ने निकाय नै भ्रष्टाचारमा लिप्त हुँदा भ्रष्टाचारका घटना भएका बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गिरीले भ्रष्टाचारको कारण देश जर्जर बनेको बताउनुभयो । ‘हाम्रा संयन्त्र आफैँ भ्रष्टाचारमा लिप्त भए, त्यहीँभित्र डुबेका कारणले यो समस्या आएको हो, देश भ्रष्टाचारले एक प्रकारले कङ्गाल भएको छ, अर्थतन्त्र जर्जर भएको छ, गरिबी बढेको छ, जनतामा निराशा बढेको छ’, उहाँले भन्नुभयो ।
यसलाई अन्त्य गर्ने इच्छा शक्तिको अभावले देशमा भ्रष्टाचार बढ्दै गएको उहाँले बताउनुभयो । भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउँछौँ र शिर निहुरिएर हिँड्नुपर्ने ठाउँमा पुर्याउँछौँ भन्ने संकल्प सबैमा हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।
भ्रष्टाचारमा संलग्न मानिसलाई आजीवन जेले सजायको व्यवस्था हुनुपर्ने उहाँले माग गर्नुभयो । अहिले ल्याइएको विधेयकले तोकेको १४ वर्ष जेल सजाय कम भएको उहाँको भनाइ छ ।
सरकारले अहिले ल्याउन लागेको विधेयकमा भ्रष्टाचार गरेको पाँच वर्षभित्र मात्रै कानुन लाग्ने भन्ने प्रावधान गलत नियतका साथ ल्याइएको उहाँले बताउनुभयो । यसलाई संशोधन गरेर भ्रष्टाचारमा संलग्नलाई जहिले पनि कारबाही गर्न सकिने प्रावधान राखिनु पर्ने उहाँले बताउनुभयो । अन्यथा सरकारको संरक्षणमा भ्रष्टाचार बढ्ने र अपराधीले उन्मुक्ति पाउने उहाँले दाबी गर्नुभयो ।
