काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा भएकाे आक्रमण प्रयासबारे सरकारले सदनलाई जानकारी गराएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसद् उठाएका प्रश्नकाे जवाफ दिँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीमाथि झापामा भएको आक्रमणको प्रयासबारे सदनलाई जानकारी गराउनुभएकाे हाे ।
'आज नेपाली राजनीतिका एक जना शीर्षस्थ नेता, नेकपा एमालेका अध्यक्ष, संसदीय दलका नेता पूर्व माननीय केपी शर्मा ओलीज्यू आफ्ना केही सहयाेगीसहित ग्रासरुटकाे शिलशिलामा इलाम जाने सन्दर्भमा झापामा प्रवेश गर्नुभएकाे थियाे, बुधबारेमा कार्यकर्तालाई सम्बाेधन गर्ने कार्यक्रम थियाे, कार्यक्रममा सम्बाेधन गर्न जाने क्रममा काेशी नामाकरणमा विराेध राख्ने समूहकाे तर्फबाट कालाेझण्डा प्रदर्शन गर्ने, केही अभद्र व्यवहारसहित त्याे कार्यक्रम हुन नदिने प्रयासस्वरुप केही ढुंगामुढाकाे दु:खद घटना भएकाे छ, त्यसप्रति सरकराकाे तर्फबाट म दुख व्यक्त गर्दै त्याे घटनाकाे निन्दा गर्न चाहान्छु'- उहाँले भन्नुभयाे ।
एमाले प्रमुख सचेतक पदम गिरीले प्रतिनिधि सभाकाे आकस्मिक समयमा बाेल्दै साे विषयमा आपत्ति जनाउँदै सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे थियाे ।
ढुंगामुढा गर्नेमध्ये १ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे र त्यसक्रममा २ जना प्रहरी घाइते भएका गृहमन्त्री श्रेष्ठले सदनलाई जानकारी गराउनुभयाे । प्रहरीकाे प्रयासमा स्थिति सहज भएर अध्यक्ष ओलीले कार्यक्रममा सम्बाेधन गरेर इलाम जानुभएकाे उहाँले भन्नुभयाे ।
सरकार संविधानकाे प्रभावकारी कार्यान्वयनकाे निम्ति दृढ रहेकाे बताउँदै उहाँले भन्नुभयाे - 'शान्तिपूर्ण रुपमा वैधानिक बाटाेबाट आफ्नो विचार राख्न र जनमत निर्माण गर्न छुट छ, त्यसकाे सरकार सम्मान गर्दछ, तर कुनै पनि काेणबाट गैरसंवैधानिक गतिविधि गर्ने, शान्तिपूर्ण गतिविधिका सट्टा अराजक गतिविधि गर्ने, कुनैपनि नेता, कार्यकर्ता वा नागरिकको शान्तिपूर्ण आवतजावत भेला कार्यक्रमलाई अवरोध उत्पन्न गर्ने कुरालाई छुट दिन सकिँदैन ।'
गृहमन्त्री श्रेष्ठले बलिदानी र संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसलाई संस्थागत गरेको नयाँ संविधानको रक्षा गर्न, त्यसलाई प्रभावकारी कार्यान्वयन गर्न र त्यसले प्राप्त गरेको लोकतान्त्रिक अधिकारलाई स्थापित गर्न र अभ्यासमा जान दिन सरकार प्रतिबद्ध रहेकाे बताउनुभयाे ।
यसप्रकारका गतिविधि नगर्न सबैमा उहाँले अपिल गर्नुभयाे । लाेकतान्त्रिक बाटाे छाेडेर कुनै पनि गतिविधि गर्न नपाइने भन्दै उहाँले केपी ओली लगायत कुनै पनि नेता, कुनै पनि नेपाली नागरिककाे स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने आफ्नाे गतिविधि गर्ने अधिकारकाे रक्षा गर्न सरकार प्रतिबद्ध रहेकाे बताउनुभयाे ।
