काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद् बिजुला रायमाझीले निरा पाण्डे आचार्यका हत्यारालाई कारबाही गर्न माग गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् रायमाझीले घटनाकाे सत्यतथ्य छानबिन गरी अपराधीलाई कारबाहीकाे दायरामा ल्याउन सरकारसँग माग गर्नुभयाे ।
काठमाडाैं महानगरपालिका-६ सरस्वती नगरमा मातातीर्थ औंशीकाे दिन आफ्नै पसलभित्र कुपिण्डाे काटेझैं शरीरकाे १८ ठाउँमा प्वाल पारेर आचार्यकाे दिनडाहडै हत्या गरिएकाे उहाँले बताउनुभयाे ।
७ दिनसम्म अपराधी पत्ता लगाउन नसक्नुले प्रहरीकाे अनुसन्धानप्रति नै शंका उत्पन्न भएकाे भन्दै सांसद् रायमाझीले जतिसकाे चाँडाे घटनाकाे सत्यतथ्य छानबिन गरी अपराधीलाई कारबाहीकाे दायरामा ल्याउन र यसबारे सदनलाई जानकारी गराउन माग गर्नुभयाे ।
नेपाली कांग्रेसका सांसद् गगन कुमार थापाले सो हत्याकाण्डको सत्यतथ्य पत्ता लगाउन र प्रहरी अनुसन्धानलाई प्रभावकारी गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयाे । त्यहाँका मानिसहरु त्रसित रहेका भन्दै उहाँले तत्काल घटनाका दाेषीलाई बाहिर ल्याउन माग गर्नुभयाे ।
सिंगाे काठमाडाैंलाई सीसी क्यामेरासँग जाेड्ने व्यवस्था मिलाउन पनि उहाँले माग गर्नुभयाे ।
