काठमाडौं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरीले देश गम्भीर आर्थिक संकटमा परेको बेला पूर्व लडाकुका नाममा माओवादी कार्यकर्तालाई रकम बाँड्न लागेको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदले उठेर विरोध जनाएका थिए । त्यस पछि सभामुखले बोल्ने समय दिएपछि प्रमुख सचेतक गिरिले देशको अर्थतन्त्र जोखिममा परेको बेला सरकारले कार्यविधि बनाएर २ लाख रुपैँयाको दरले अयोग्य लडाकुको नाममा पैसा बाँड्न लागेको भन्दै आलोचना गर्नुभयो ।
सत्य निरूपण तथा मेलमिलाप आयोगको काममा आलटाल गरेर माओवादी राज्य कोषको दुरुपयोग गर्न तर्फ उन्मुख भएको गिरिले बताउनुभयो । कर्मचारीलाई तलब खुवाउन, सामाजिक सुरक्षा भत्ता वितरण गर्न र आयोजनाको रकम समेत दिन नसकेर स्थानीय तहमा पठाउने रकम कटौती गर्ने सरकारले आफ्ना कार्यकर्तालाई पैसा बाँड्ने कार्यक्रम ल्याएर देश बरबाद गर्न लागेको गिरीले बताउनुभयो । एक खर्ब २० अर्ब बढी अनिवार्य दायित्व भएको बेला सरकाले आफ्ना कार्यकर्तालाई पैसा बाँड्न लागेको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
माओवादी लडाकुको नाममा माओवादीले निकालेको ९५ करोड रुपैँयाको हिसाब अहिले पनि माओवादी बुझाउन नसकेको उहाँले बताउनुभयो । ‘राज्य कोषबाट यस्तो प्रकार दोहन हुँदै छ कि दिनदहाडै देश लुटिएको छ, त्यस्तो कुरा हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन’, उहाँले भन्नुभयो ।
एमालेले सदासयतापूर्व उठाएको सो विषयमा गम्भीर हुन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । यसलाई नजरअन्दाज गरे एमालेले जस्तोसुकै कदम चाल्ने उहाँले चेतावनी दिनुभयो ।
गिरीले आर्थिक अभावले गरिब मर्ने अवस्था आएको बताउनुभयो । गरिब दाल चामल समेत किन्न नसक्ने अवस्थामा पुगेको बेला सत्तारुढ दलले राज्य कोषको रकम लुट्न लागेको उहाँको भनाइ छ ।
गिरीले झापामा नेकपा एमालेका अध्यक्ष माथि आक्रमणको प्रयास गरेको प्रति पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । शान्ति सुरक्षा स्थापनामा सरकार असफल भएको उहाँले बताउनुभयो ।
