काठमाडौं । प्रतिनिधि सभा सदस्य रोशन खड्काले विकास बजेट कटौती गरेर माओवादी कार्यकर्ता पोस्ने काम गर्न लागेको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै विकासका बजेट कटौती भएका, कर्मचारी र प्रहरी तलब खान नपाएर रोएर बसेको अवस्थामा माओवादीका पूर्व लडाकुका नाममा राज्य कोषको रकम खर्च गर्न लागेको भन्दै उहाँले विरोध जनाउनुभयो । ‘ सरकारले अयोग्य लडाकुलाई बोनस, पुरस्कार दिन थालेछ, यो कस्तो न्याय हो ?’, उहाँले भन्नुभयो ।
राज्य कोषको पैसा कसैको घरको सम्पत्ति जस्तो नभएको उहाँले बताउनुभयो । गरिब नेपाली जनताले तिरेको कर र नेपालीको लागि आएको विदेशी अनुदानले माओवादी कार्यकर्ता पोस्न नमिल्ने उहाँको भनाइ छ ।
प्रधानमन्त्रीलाई मङ्गल ग्रहबाट आएका मानिसले भोट दिएर प्रधानमन्त्री नबनाएको उहाँले बताउनुभयो । नेपाली जनताको मतबाट निर्वाचित जनप्रतिनिधिले प्रधानमन्त्री बनाएकोले प्रधानमन्त्रीलाई देश र जनताप्रति उत्तरदायी हुन उहाँले आग्रह गर्नुभयो । ‘तत्कालै नेपाली जनता मारा निर्णय रद्द हुनुपर्छ’, खड्काले भन्नुभयो ।
