काठमाडौं । प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले सरकारले माओवादीका अयोग्य लडाकुलाई रकम बाँड्न लागेको भन्दै आलोचना गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले सो कार्य रोक्न सरकारलाई आग्रह गर्नुभयो । देश चरम आर्थिक संकटमा परेको भन्दै पैसा बाँड्ने काम रोक्न उहाँले आग्रह गर्नुभयो ।
पैसा बाँड्ने हो भने माओवादीलाई मात्र होइन सबै नेपालाई बाँड्न उहाँले आग्रह गर्नुभयो । ‘अयोग्यले त दुई लाख पाउने हो भने योग्यले कति पाउने ? सरकारले निर्णय गरोस्, अयोग्यलाई मात्र होइन योग्यलाई पनि निर्णय गरोस्’, उहाँले भन्नुभयो ।
देशको आर्थिक अवस्था कमजोर भइरहेको अवस्थामा सरकारले अयोग्यको नाममा बजेट बाँड्न नहुने खतिवडाले बताउनुभयो ।
खतिवडाले प्रतिनिधि सभा बैठकमा नियमित अनुपस्थित रहनुभएका एमाले सांसदलाई निलम्बन गर्न पनि माग गर्नुभयो ।
