काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले देश आर्थिक संकटमा परेको बेला अपारदर्शी तरिकाले संसद्लाई छलेर अयोग्य लडाकुलाई रकम बाँड्ने निर्णय अस्वाभाविक भएको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै पौडेलले यसबारे संसद्लाई तत्काल जानकारी गराउन सरकारसँग माग गर्नुभयो । ‘आर्थिक संकटको बेलामा यो निर्णय अपारदर्शी ढङ्गले संसद्लाई छलेर गर्नु स्वाभाविक होइन’, उहाँले भन्नुभयो ।
पौडेलले कृषि, पर्यटन, पूर्वाधार विकास लगायतका कुनै पनि क्षेत्रका आशा अनुसार काम हुन नसकेको उहाँले बताउनुभयो । देश आर्थिक रूपमा गम्भीर संकटमा परेको प्रति पौडेलले सरकार र संसद्को ध्यानाकर्षण गराउनुभयो । सरकारले विकास खर्च गर्न नसक्दा आर्थिक गतिविधि सङ्कुचित हुँदै गएको उहाँले बताउनुभयो । राज्यको चालु खर्च घटाउनको लागि विशेष पहल गर्न उहाँले आग्रह गर्नुभयो ।
देश भित्र रोजगारी सिर्जना गर्न विशेष पहल गर्न उहाँले आग्रह गर्नुभयो । युवालाई श्रममा लगाउने राष्ट्रिय अभियान चलाउन उहाँले सुझाव दिनुभयो ।
