काठमाडौं । प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले नेकपा एमाले अध्यक्ष केपी ओलीको हत्या गर्ने षडयन्त्रका साथ आक्रमण सुरु भएको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै बास्कोटाले सरकारले उहाँ माथि आक्रमण हुँदै छ भन्ने कुरा थाहा पाउँदा पाउँदै पनि नरोकेको बताउनुभयो । माओवादीले पहिले जातका आधारमा राज्य बाँड्दा अहिले समस्या आएको उहाँले बताउनुभयो । माओवादी आफ्ना कार्यकर्ता सम्हाल्न नसक्ने अवस्थामा पुगेको बास्कोटाले टिप्पणी गर्नुभयो । ‘हिजो धतुरो रोप्नु भएको थियो, आज सुन्तला फलेन’, उहाँले भन्नुभयो ।
कोसी प्रदेश माओवादीले पास गरेको नाम भएको बताउँदै उसले फेरी जातका नाममा कार्यकर्ता उकास्ने काम गरेको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘काँक्रो आफू चोर्ने, बियाँ अर्काको गालामा दल्ने खालको काम नगरौँ’, उहाँले भन्नुभयो ।
केपी ओली एमाले अध्यक्ष मात्रै नभएर देशको पूर्व प्रधानमन्त्री समेत भएको उहाँले स्मरण गराउनुभयो । ओली नेपालमा केही ऐतिहासिक काम गर्ने नेता भएको पनि उहाँले सम्झाउनुभयो । ‘के उहाँको हत्या गराउन खोजेको हो ?’ उहाँले प्रश्न गर्नुभयो ।
माओवादी मन्छे उचाल्ने पनि आफैँ र भोट हाल्ने पनि आफैँ भएको उहाँले बताउनुभयो । उहाँले माओवादीलाई आफूले आफैलाई जवाफ दिन आग्रह गर्नुभयो ।
बास्कोटाले स्मार्ट टेलिकम खारेज गरेको भए पनि पचासौँ करोडको त्यसले जारी गरेको रिचार्ज कार्ड बजारमा रहेको उहाँले बताउनुभयो । त्यसको दायित्व सरकाले वहन गर्नुपर्ने उहाँको भनाउनुभयो । सरकारले सबै कुराको व्यवस्थापन नगरी खारेज गरेकोले त्यसको जवाफ दिनुपर्ने उहाँले बताउनुभयो ।
